
बिर्तामोड, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापा बिर्तामोडका डक्टर सुमन खरेल निर्वाचित भएका छन् । संगठनको ११ औँ राष्ट्रिय सम्मेलनबाट खरेल निर्वाचित भएका हुन् ।
यसअघि संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासका सहप्राध्यापक हुन् । २० वर्षदेखि प्राध्यापनमा रहेका खरेलसँग यसअघि संगठनको केन्द्रीय सदस्य र उपमहासचिव भएर काम गरेको सिद्धहस्त अनुभव रहेको छ ।
उनले ग्रामीण विकासअन्तर्गत स्थानीय शासनको सार्वजनिक सेवा प्रवाह विषयमा पिएचडी गरेका छन् । सरल, शान्त एवम् बौद्धिक व्यक्तित्वको रुपमा कहलिएका खरेल प्राध्यापकहरुमाझ लोकप्रिय छन् ।
प्राज्ञिक हिसाबले नेतृत्व गर्दै पेशागत हकहितका लागि अघि बढ्नुपर्ने बताउने खरेलका ग्रामीण विकास, सुशासन, स्थानीय शासन विषयमा अन्तर्राष्ट्रिय जर्नलहरुमा लेखहरु प्रकाशन हुँदै आएका छन् । उनका आधा दर्जन पुस्तकहरु प्रकाशित छन् ।