२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढी भेट्रान फुटबलः उपाधिका लागि आयोजक र उर्लाबारी खेल्दै


भद्रपुर, बैशाख १२ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक चन्द्रगढी र उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी खेल्ने भएका छन् ।

भद्रपुरको मेची रंगशालामा भोलि शनिबार हुने फाइनल भिडन्तमा झापा र मोरङको प्रतिनिधि क्लबले आपसमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

चन्द्रगढीले सेमिफाइनलमा दुधे भेट्रान क्लबमाथि ३–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । त्यस्तै, पूर्वेली युवा क्लब बिर्तामोडलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै ढल्के जोवन उपाधिनजिक पुगेको हो ।

राष्ट्रिय टोलीका पूर्वसदस्य गम्भीर राईको स्मृतिमा जारी प्रतियोगितामा झापा ११ र मोरङको एक गरी १२ टिमको सहभागिता रहेको आयोजक चन्द्रगढी भेट्रान क्लबका अध्यक्ष गजेन राईले जानकारी दिए ।

बैशाख १३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१०० र ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

भद्रपुर नगरपालिका सहयोगी रहेको प्रतियोगिताको मुख्य प्रायोजक ओमकार हार्डवयेर तथा ओमकार रेडीमिक्स भद्रपुर रहेको छ । प्रथम पुरस्कार टार्जन गुरुङ र चन्द्रगढी–भद्रपुर वैदेशिक रोजगार समूहले उपलब्ध गराएको हो ।

Adv footer