
बिर्तामोड, बैशाख २१ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड स्पोर्टस सेन्टरमा जारी प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
हिजो राति सम्पन्न प्रिक्वार्टर फाइनल र क्वार्टर फाइनल सकिएसँगै आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल आयोजक बिर्तामोड स्पोर्टस सेन्टर ‘ए’ र सिलिगुडीको नेताजी युथ क्लबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेल धराने डर्बी योङ युथ एफसी र यती एफीले आपसमा प्रतिस्पर्धा गर्ने छन् ।
आयोजकले मार्क्स एफसी सिलिगुडी र नेताजीले शनिश्चरे एफसीलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । त्यस्तै, योङ युथले आयोजक बि र यतीले आदर्श मैदान ए लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउने आयोजकका अध्यक्ष सञ्जीव प्रसाईंले बताए ।
प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहेको सेन्टरका सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ । प्रतियोगिता बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित फुटसल कोर्टमा जारी छ ।