
बिर्तामोड, बैशाख २१ । प्रहरीले झापाको गौरादहमा गोरु (बहर) काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा मासुसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौरादह–१ का २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन् ।
उनीहरुले हिजो राति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बर–१ क्रसर उद्योग छेउमा बहर काटेका थिए ।
गोरुको मासु बोरामा हाली लाँदै गरेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा उनीहरुले गौरादह–१ बेलडाँगी पानीट्याङ्कीछेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए ।
त्यसपछि लिम्बूको घरमा हेर्दा निलो प्लास्टिक ओछ्याएर बोरा, डोको र सेतो बाल्टीमा बहरको टाउको, खुट्टा, छाला, अण्डकोष भेटिएको थियो ।
अन्दाजी १५० केजी बहरको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।