
बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा जेठको पहिलो सातादेखि कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ का अनुसार समितिको हालै सम्पन्न बैठकले झापाको अर्जुनधारामा जेठ ८ देखि १० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
कोशी प्रदेशका सबै जिल्ला खेलकुद विकास समिति र बक्सिङ संघहरुलाई प्रतियोगिता सम्बन्धमा पत्राचार गरिएको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।
प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्ने बताइएको छ । स्वास्थ्य, सुरक्षा र आत्मरक्षाको दृष्टिकोणले खेलकुदको महत्वपूर्ण विधामा पर्ने बक्सिङप्रति युवाहरुको आकर्षण बढाउने र बक्सिङ खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।
एथलेटिक्स प्रशिक्षक विष्टलाई विदाइ
एथलेटिक्स विधाको प्रशिक्षकको रुपमा झन्डै डेढ दशक झापा जिल्ला खेलकुद विकास समितिमा कार्यरत रही अनिवार्य अवकाश लिएकी नर्वदा विष्टलाई समितिले सम्मानसहित विदाइ गरेको छ ।
विष्ट २०६९ सालदेखि झापा खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकको रुपमा कार्यरत थिइन् ।