बिर्तामोड, बैशाख २७ । झापाको बिर्तामोड र दमकमा युवाहरुबीच ग्याङफाइट भएको छ । दुई समूहबीचको झडपमा दुईजना घाइते भएका छन् भने दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बिर्तामोड ६ स्यालडाँगीमा सोही ठाउँका १७ वर्षीय आरएन राजवंशी, १३ वर्षीय विष्णु खवाससहित उनका छजना साथीहरु र बिर्तामोड ६ बस्ने १३ वर्षीय राज सुन्दाससहित उनका ९ जना साथीहरुबीच ग्याङफाइट भएको हो ।
हिजो राति ०९ः३० बजे भएको झडपमा आरएन राजवंशीको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले राज सुन्दास र विष्णु खवासलाई नियन्त्रणमा लिएको छ । फरार रहेका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दमकमा पनि युवाका दुई समूहबीच झडप भएको छ । हिजो राति अन्दाजी ८ बजे दमक ५ क्याम्पसमोडमा वडा नम्बर १० सेतुमारी बस्ने २५ वर्षीय केशव श्रेष्ठले सञ्चालन गरेको मोबाईल पसल अगाडी मोटरसाइकल पार्किङ गर्ने बिषयमा विवाद भएको हो ।
वडा नम्ब ५ बस्ने ३० वर्षीय सुमन श्रेष्ठ र सोही ठाउँ बस्ने ३२ वर्षीय नविन राईबीच मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद भई कुटपिट हुँदा केशव श्रेष्ठको टाउकोमा चोट लागेको छ ।
घाइते श्रेष्ठको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । कुटपिट गर्ने सुमन श्रेष्ठ र नविन राईलगायतको खोजी गरिरहेको दमक प्रहरीले जनाइएको छ ।
प्रहरीले सोही स्थानमा उनीहरुले पार्किङ गरी राखेको को. २३ प ७१५३ र प्रदेश १–०१–०१७ प २९६० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।