
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ ।


झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु सहभागी थिए । अर्जुनधारा-११ को लक्ष्मीधापबाट सुरु भएको साइकल दौड सालबारी आसपास भएर पुनः लक्ष्मीधापमा आएर टुंगिएको थियो ।


प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गरिने प्रतियोगितात्मक साइकल उत्सव आजबाट सुरु गरिएको बिर्तामोडका साइकल अभियन्ता आकाश श्रेष्ठले जानकारी दिए ।


झापामा साइकल राइडरहरुको उत्पादन गर्ने लक्ष्य राखेर सुरु गरिएको कार्यक्रम निरन्तर सञ्चालन गरिने बुद्धशान्तिका साइकल अभियन्ता पूर्ण गौलीले जानकारी दिए ।
आज आयोजना गरिएको कार्यक्रममा ४० जना बालबालिकाको सहभागिता रहेको नेपाल खेलकुद पत्रकार मञ्च झापाका पूर्वअध्यक्ष हिमाल खरेलले जानकारी दिए ।


प्रतियोगिताअन्तर्गत अन्डर १३ उमेर समूहमा मेचीनगरका मन्दिप नेपाल प्रथम, बिर्तामोडका रोजल शाक्य दोस्रो र अर्जुनधाराका सक्सेस केदेम तेस्रो भए ।

त्यस्तै, अन्डर १५ उमेर समूहमा अर्जुनधाराका दर्शन लिम्बू प्रथम, अर्जुनधाराकै सौजल लिम्बू दोस्रो र मेचीनगरका निष्कर्ष बराल तेस्रो भए ।


त्यस्तै, अन्डर १७ उमेर समूहमा बिर्तामोडका बादल लिम्बू प्रथम, बिर्तामोडकै साहिल नेपाली दोस्रो र मेचीनगरका ऋदन विश्वकर्मा तेस्रो भए ।
उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको सौजन्य हिमाल खरेल, शिरीष रिमाल र आकाश श्रेष्ठले गरेका थिए ।
