
बिर्तामोड, जेठ ५ । झापा प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट झन्डै चार करोड रुपैयाँको कृषि औजारसहित तीनवटा भारतीय नम्बर प्लेटको कन्टेनर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार भन्सार छलेर नेपाल भित्र्याइएको फसल काट्ने मेसिन, पराल संकलक मेसिन तथा त्यसमा प्रयोग हुने अन्य सामानसहित कन्टेनर नियन्त्रणमा लिइएको हो ।

प्रहरीले गोप्य सूचनाका आधारमा हिजो साँझ ७ बजे बिर्तामोड ५ बाट ती कन्टेनरमाथि जाँच गरेको थियो । भारतको नागाल्यान्डबाट काँकरभिट्टा हुँदै नेपाल प्रवेश ती कन्टेनरमा ठुलो संख्यामा कृषि औजार अवैध रुपमा ल्याइएको प्रहरीले सूचना पाएको थियो ।

सोही सूचनाका आधारमा एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीवटा कन्टेनरमाथि जाँच गर्दा तीन करोड ६१ लाख रुपैयाँको कृषि औजार भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कृषि औजार र नियन्त्रणमा लिइएको कन्टेनरहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको निमित्त प्रवक्ता श्रेष्ठले जानकारी दिए ।