
बिर्तामोड, जेठ १९ । बिर्तामोडमा एक महिनाभित्र चारवटा चोरीका घटना भएका छन् । प्रहरीले एक्सन लिन नसक्दा बिर्तामोडमा घरमा चोरीका घटना रोकिएको छैन ।

शनिबार राति बिर्तामोड-१० विराटपोखरमा लाखौँ रुपैयाँको चोरी भएको छ । स्थानीय ध्रुवप्रसाद शिवाकोटीको घरबाट १७ तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी भएको हो ।

घरमा कोही नभएको मौकामा उनको घरमा चोरी भएको हो । घरको बीचतल्लाको सुत्ने कोठाभित्र रहेको स्टिलको दराजको ताला फुटाएर १७ तोला सुन र नगद ३ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

सहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ । चौथोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी कार्यालय अनारमीले चोर पत्ता लगाउन सकेको छैन । प्रहरीलाई हेरेको हेर्यै पारेर चोरहरुले शृंखलाबद्ध रुपमा घर फोडिरहेका छन् ।

चारवटै चोरीका घटना घरमा कोही नभएको मौका छोपेर भएका छन् । घरबाहिर जाँदा चाबी घरमै कतै राखेर निक्सिँदा चोरले चाबी पत्ता लगाएर लुट्ने गरेको पाइएको छ ।
जेठ ४ गते बिर्तामोड-५ कञ्चनजंघा टोलका कुमार बुढाथोकीको घरबाट सुनको गरगहना ६ तोला १४ आना, चाँदीको गरगहना ६ तोला र नगद २० हजार गरी अन्दाजी १३ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको छ । बुढाथोकी परिवार इटहरी गएका थिए ।
यसअघि बिर्तामोडमा कोही नभएको मौका छोपेर बैशाख २६ गते बिर्तामोड–३ पुण्डरी टोलका किरण दाहालको घरबाट २९ लाखको र बैशाख १५ गते बिर्तामोड–४ हिमशिखर टोलका कमला कार्कीको घरबाट दिउँसै २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।