२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

इलाममा कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरू


बिर्तामोड, जेठ २४ । इलामको इलाम बजारमा बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरू भएको छ ।

इलाम जिल्ला बुद्धिचाल संघको आयोजना र कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे ।

संघका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए । उनले पुरस्कारमा मात्र एक लाख १९ हजार रुपैयाँ खर्च हुने जानकारी दिए ।

आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः १० हजार, सात हजार, छ हजार र पाँच हजार पाउनेछन् । छैटौँदेखि १० औँ स्थानसम्मलाई जनही चार हजारले पुरस्कृत गरिनेछ ।

विद्यालयस्तरीयमा प्रथमले तीन हजार र दोस्रोले दुई हजार, हिल च्याम्पियन प्रथमले चार हजार दोस्रोले तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् ।

इलाम प्रथमले चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मले दुई हजारका दरले पुरस्कार पाउनेछन् । भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही चार हजार पाउनेछन् ।

स्विस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा एक लाख रुपैयाँ नगद सहयोग गरेकी छन् ।

Adv footer