
बिर्तामोड, जेठ २४ । रविन मण्डलको ५ विकेटको सहयोगमा कोशी प्रदेशले टिबी शाह यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ ।

कोशीले शनिबार गण्डकी प्रदेशलाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्यो । २५७ रनको लक्ष्य पछ्याएको गण्डकी २२.४ ओभरमा ८५ रनमा समेटियो ।

गण्डकीका लागि ओपनर विनय कार्कीले सर्वाधिक १६ रन जोडे । भुवन भट्टराई १४ र सुप्रिम सुनार १२ रनमा आउट भए ।

कोशीका रविनले ७.४ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए । सुगम बुढाथोकीले ३, सुयोग भट्टराई र कविराज खत्रीले समान १ विकेट लिए ।

कालिञ्चोक क्रिकेट मैदान सुर्खेतमा त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५६ रन बनायो ।
कोशीका लागि सुगम बुढाथोकी ७५ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक ६८ रन जोडे । रविन मण्डल र अफान ताहिरले समान ३९ तथा सकुशल श्रेष्ठ ३० रनमा आउट भए ।
गण्डकीका लागि सुशील भट्टराईले ५ तथा रिदम पाण्डे र अनिश राउतले समान २ विकेट लिए ।
जितसँगै कोशीले ४ खेलमा ३ जितका साथ ६ अंक बटुलेको छ । पराजित गण्डकी भने लगातार तेस्रो हारका अंकविहीन रहेको छ ।
सिंगल राउन्ड रोविनमा हुने प्रतियोगितामा ७ प्रदेश सहभागी छन् । शीर्ष दुई टोलीले जेठ ३१ गते फाइनल खेल्नेछन् ।
यो प्रतियोगिता एसिसी मेन्स यु १६ इस्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ ।