
बिर्तामोड, जेठ २६ । झापाका खेलाडी सम्मिलित कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ ।

मध्यपुर थिमी नगरपालिका दिव्यश्वरीस्थित रोयल नेपाल फुटसलमा भएको फाइनलमा कोशीले गण्डकी प्रदेशलाई ५-३ गोलले पराजित गर्यो ।

उपाधिसँगै कोशीले ३० हजार तथा गण्डकीले २० हजार नगद पुरस्कार पाए । कोशीको हक्की टिममा सबै खेलाडी झापाको भद्रपुरका मात्र रहेका छन् ।

कोशीका मनोज चौधरीले २ तथा प्रदिप राजवंशी, डिल्ली चौधरी र रोशन चौधरीले समान १–१ गोल गरे । गण्डकीका अशिम बहिकले २ तथा पवन परियारले १ गोल गरे ।

कोशीका मनोज चौधरी फाइनलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । बागमती प्रदेश हक्की संघद्वारा आयोजित प्रतियोगितामा कोशीका रोशन चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

गण्डकीका पवन परियार उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक र बागमतीका सुजल महर्जन उदीयमान खेलाडी बने । प्रदिप राजवंशी सर्वाधिक गोलकर्ता भए ।

एक दिने प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम गरी ६ टिम सहभागी थिए ।