
बिर्तामोड, जेठ २६ । झापाको बिर्तामोडस्थित देवी माविमा सम्पन्न विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा बुद्धशान्तिको आदर्श मावि प्रथम भएको छ ।

आदर्शका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अनिश शाहले तयार पारेको ‘अटोमेटिक भोल्टेज कन्ट्रोलर सर्किट’ ले प्रथम स्थान हासिल गरेको हो । उनले नगद चार लाख रुपैयाँ पुरस्कार पाए ।

प्रदर्शनीमा उनले बनाएको सो सर्किटले धेरै विद्यार्थीलाई झुम्याएको पनि थियो । उनले युट्युब हेरेर सर्किट बनाएको बताएका छन् । उनलाई कक्षा ११ का विज्ञान शिक्षक शिव ढुङ्गेलले सर्किट बनाउन सहयोग गरेका थिए ।

त्यस्तै, प्रतियोगितामा देवी मावि बिर्तामोड दोस्रो भएको छ । कक्षा ११ का सविन बाँस्कोटा नेतृत्वको टिमले बताएको देवी रोबोटले दोस्रो भएसँग नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।


सविन, आयुष, अनिश र सुवर्णले एक महिना लगाएर देवी रोबोट बनाएका हुन् । प्रदर्शनीमा सो रोबोटले सबैलाई चकित बनाएको थियो ।

त्यस्तै, तेह्रथुमको सिंहदेवी मावि तेह्रथुम तेस्रो भएको छ । उसले नगद दुई लाख रुपैयाँ पायो ।

फिदिम मावि पाँचथर, फिक्कल मावि इलाम, ल्याबोरटरी मावि सुनसरी, चिसापानी मावि खोटाङ, भानु जन मावि ताप्लेजुङ, मनकामना रत्न अम्बिका मावि संखुवासभा, हिमाली मावि झापा, त्रिवेणी मावि धनकुटा, रिलाइन्स अंग्रेजी मावि मोरङले प्रोत्साहन पुरस्कारबापत २५-२५ हजार रुपैयाँ पाए ।
कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले खोज, परिकल्पना र अनुसन्धानबाट तयार पारिएका प्रोजेक्ट तथा परियोजना प्रदर्शनीमा राखिएको थियो ।
१२५ वटा स्टल रहेको प्रदर्शनी १२ जिल्लाका ५० भन्दा बढी विद्यालय प्रतियोगीका रुपमा सहभागी थिए । प्रदर्शनीको १० हजारजनाले अवलोकन गरेको अनुमान छ ।