
बिर्तामोड, जेठ २७ । झापा प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोडका अमिर ल्वागुन विश्वकर्मा छन् ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडा–८ का आरसिंह विश्वकर्माका छोरा ३० वर्षीय अमिरलाई हिजो साँझ ०७ः३० बजे पक्राउ गरिएको हो ।

अमिरविरुद्ध उच्च अदालत पाटनले राजस्व चुहावटसम्बन्धी मुद्दामा दुई करोड ८४ लाख लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना तोकेको थियो ।


उच्च अदालत पाटनको २०८१ फागुन २९ गतेको फैसलाले उनलाई १ वर्ष २ महिना १५ दिन कैद समेत तोकेको थियो ।

अमिरलाई पक्राउ गरी आजै जिल्ला अदालत झापामा उपस्थित गराएर झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी झापाका विभिन्न ठाउँ तथा भारतका सहरहरुमा लुक्दै आएको बताइएको छ । उनलाई झापाबाट पक्राउ गरिएको हो ।
