
बिर्तामोड, असार ३ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार (जुन १६) मा नयाँ कीर्तिमान बनेको छ । स्कटल्यान्डको ग्लास्गोमा भएको नेपाल र नेदरल्यान्डस् बीचको त्रिकोणात्मक टि–२० क्रिकेट शृंखलाको पहिलो खेल बराबरी भयो । दुवै टोली तीनपटक सुपर ओभर खेलेपछि मात्र नतिजा टुंगिएको हो ।

यो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै पहिलो ‘ट्रिपल सुपर ओभर’ हो । नेदरल्यान्डस्ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो । उसका लागि विक्रमजित सिंहले २९ बलमा ३० रन, तेजा निदामनुरुले ३७ बलमा ३५ रन तथा साकिब जुल्फिकारले २५ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले २३ बलमा ३४ रन र कप्तान रोहित पौडेलले ३५ बलमा ४८ रन बनाए । खेलको अन्त्यतिर नन्दन यादवले ४ बलमा १२ रनको विस्फोटक इनिङ खेलेपछि खेल पहिलो सुपर ओभरमा पुगेको हो ।

पहिलो सुपर ओभरमा नेपालका लागि कुशल भुर्तेलले ५ बलमा १८ रन बनाए । नेपालले १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेदरल्यान्डस्का म्याक्स ओ’डाउडले अन्तिम दुई बलमा चौका र छक्का हिर्काउँदै स्कोर बराबरी गरे र खेल दोस्रो सुपर ओभरमा गयो ।

दोस्रो सुपर ओभरमा नेदरल्यान्डस्ले पहिले ब्याटिङ गर्दै कप्तान स्कट एडवड्र्सको ६ बलमा १६ रनको मद्दतले १७ रन बनायो । जवाफी ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले पहिलो बलमै छक्का प्रहार गरे ।

अन्त्यमा नेपाललाई खेललाई तेस्रो सुपर ओभरमा लैजान ६ रन आवश्यक थियो । त्यही समयमा दिपेन्द्रसिंह ऐरीले निर्णायक छक्का हानेर खेललाई तेस्रो सुपर ओभरमा पु¥याए ।

यसअघि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अफगानिस्तानबीच मात्रै एकपटक ‘डबल सुपर ओभर’ भएको थियो । नेपाल र नेदरल्यान्डस्बीचको यो खेलमा भने त्योभन्दा एक कदमअघि बढ्दै ‘ट्रिपल सुपर ओभर’ मा पुग्यो ।
तेस्रो सुपर ओभरमा नेपाल ब्याटिङ गर्न आए पनि एक रनसमेत बनाउन सकेन । नेदरल्यान्डस्का लागि जाच लियोन–काचेतले उत्कृष्ट बलिङ गरे । जवाफी ब्याटिङमा माइकेल लेभिटले पहिलो बलमै छक्का हानेर नेदरल्यान्डस्लाई ऐतिहासिक जित दिलाए ।
यो खेलपछि नेदरल्यान्डस् टि–२० इतिहासमा दोहोरो सुपर ओभर जित्ने दोस्रो र ट्रिपल सुपर ओभर जित्ने पहिलो टोली बनेको छ ।
-लोकान्तरबाट साभार