२०८२ असार ५ बिहीबार
Jhapa Today
Adv top

फेरि ल्याइँदै चार दिने टेस्ट क्रिकेटको अवधारणा


बिर्तामोड, असार ४ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टेस्ट क्रिकेटसँग जोडिएको एउटा विषय फेरि चर्चामा ल्याएको छ । आइसिसीले चार दिने टेस्टको विषयमा छलफल अघि बढाएको हो ।

यसअघि पनि चार दिने टेस्टको विषयमा चर्चा हुने गरेको थियो । आइसिसीका वर्तमान अध्यक्ष जय शाह पनि यो पक्षमा देखिएका छन् । हाल टेस्ट क्रिकेट पाँच दिनसम्म खेलिन्छ । आइसिसीले त्यसमा एक दिन घटाउने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।

विश्व टेस्ट च्याम्पियनसिपको २०२५–२७ सत्रमा भने पाँच दिवसीय टेस्ट नै खेलाइनेछ । यो सत्रमा नौवटा राष्ट्रले कुल २७ शृंखला खेल्नेछन् । त्यसमध्ये १७ शृंखलामा दुइटा टेस्ट मात्र खेलिनेछ । छवटा शृंखलामा भने सहभागी टोलीले तीन–तीनवटा टेस्ट खेल्नेछन् ।

आइसिसीले भारत, अस्ट्रेलिया र इङ्ल्यान्डलाई छाडेर अन्य राष्ट्रका लागि चार दिवसीय टेस्टको अवधारणा अगाडि सारेको हो । इङ्ल्यान्ड, अस्ट्रेलिया र भारतीय टोलीले भने पाँच दिवसीय टेस्ट नै खेल्नेछन् ।

यी तीन टोलीबीच टेस्ट च्याम्पियनसिपमा आपसमा पाँच–पाँच खेलको शृंखला खेलिनेछ । यसअघि सन् २०१७ मा आइसिसीले चार दिवसीय टेस्टको अवधारणा अघि सारेको थियो । सोहीअनुरूप इङ्ल्यान्डले त जिम्बाबेसँग चार दिवसीय टेस्ट खेलेको पनि थियो ।

इङ्ल्यान्डले सन् २०१९ र सन् २०२३ आयरल्यान्डसँग पनि चार दिने टेस्ट खेलेको थियो । अहिले आएर विश्व टेस्ट च्याम्पियनसिपको आगामी संस्करणमा पनि यो नियम लागु गर्ने तयारी अगाडि बढाइएको समाचारमा जनाइएको छ ।

चार दिवसीय टेस्टले विश्व क्रिकेटमा उदाउँदै गरेका राष्ट्रलाई फाइदा पुग्ने आइसिसीको विश्वास छ । अहिलेको स्थितिमा कतिपय राष्ट्र लामो ढाँचाको प्रतियोगिता आयोजना गर्न चाहँदैनन् । पाँच दिने टेस्टमा समय र पैसा दुवै बढी खर्च हुन्छ । तर, चार दिने टेस्टको अवधारणा लागु भएपछि तीन टेस्टको शृंखला केवल तीन सातामा समाप्त हुन्छ ।

यस्तो स्थितिमा विश्व क्रिकेटमा अगाडि आउँदै गरेका राष्ट्रहरु पनि टेस्ट शृंखला आयोजना गर्न इच्छुक बन्नेछन् । आइसिसीले चार दिवसीय टेस्टको अवधारणा लागु भएपछि प्रत्येक दिन ९८ ओभरको खेल खेलाउने प्रस्ताव अघि सारेको छ । पाँच दिने टेस्टमा प्रत्येक दिन ९० ओभरको खेल हुने गरेको छ ।

-लोकान्तरबाट साभार

Adv footer