२०८२ असार १३ शुक्रबार
Jhapa Today
Adv top

पूर्वी तराईमा मनसुन कमजोर, टुंगो छैन पानीको


बिर्तामोड, असार १३ । नेपालमा मनसुन गत जेठ १५ गते भित्रिएको थियो । कोशी प्रदेशबाट भित्रिएको मनसुन फैलिँदै सुदूरपश्चिम पुगे पनि पूर्वमा भने पानी पनै सकेको छैन ।

अहिले बङ्गालको खाडी र दक्षिण भारतमा बलियो न्यूनचापीय प्रणाली बनिनसकेकाले पनि मनसुन केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

खासगरी पूर्वी तराई र मधेशमा पानी पर्न नसक्दा तापक्रम घटेको छैन । राति पानी पर्न खोजे पनि दिउँसो घाम लाग्ने देखिँदै आएको छ । मनसुनी वर्षाको प्रणाली अझै कमजोर रहेकाले दिनभन्दा रातमा पानी पर्न सक्ने हुनसक्छ ।

तर, अबका केही दिनभित्रै मनसुन सक्रिय हुने सम्भावना रहेकाले पूर्वी तराई र मधेशका जिल्लामा पनि राम्रै पानी पर्ने महाशाखाका मौसमविद गोविन्द झा बताउँछन् ।

‘मनसुन राम्रोसँग बनिरहेको छ । मनसुनको न्यूनचापीय रेखा पनि विस्तारै विकास हुँदै गएको देखिएको छ, त्यसको पोजिसनअनुसार कता धेरै पानी पर्ने भन्ने थाहा हुन्छ,’ मौसमविद झाले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा सबैतिर छिट्टै राम्रै खालको वर्षा हुने दिन आउँदैछ ।’

महाशाखाका मौसमविद्का अनुसार नेपालनजिक मनसुनी रेखा निकै पातलो छ । त्यो बलियो भएसँगै मनसुन बलियो भएर देशव्यापी वर्षा हुनेछ ।

Adv footer