
बिर्तामोड, असार १३ । प्रहरीले झापाको अर्जुनधाराको फरकफरक स्थानबाट करिब २ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा-६ पुष्पलालचोक बस्ने ५९ वर्षीया अमृतमाया लिम्बू र इलाम-१२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने २० वर्षीय रोशन भट्टराई छन् ।

लिम्बूको घरमा गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको हो ।

हिजो पक्राउ परेका उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
