२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

महेन्द्ररत्न मावि नयाँ नमुना भवनमा, एसइइ उत्तीर्णलाई बधाई


बिर्तामोड, असार १६ । बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्तीर्ण अर्थात् ग्रेडेड विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ ।

बिर्तामोड ५ मा रहेको विद्यालयको नमुना भवनमा भएको उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तीर्ण हुने र उच्च जिपिए प्राप्त गर्ने विद्यार्थी र तिनका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी, विद्यालय व्यवस्थापन समिति सदस्य श्रीप्रसाद न्यौपाने, नेत्रप्रसाद खरेल, शिक्षक अभिभावक संघका अध्यक्ष यामप्रसाद भट्टराई, अभिभावक पदमप्रसाद बास्कोटा, विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयको इतिहासमा पहिलोपटक ४ जिपिए प्राप्त गर्ने विद्यार्थी विद्या दाहाललगायत चेतन गौतमले विद्यार्थीहरूको तर्फबाट आफ्ना अनुभवहरू राखेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक केशव प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अर्का सहायक प्रधानाध्यापक तुलसीराम खरेलले गरेका थिए ।

२०८१ सालको एसइइमा विद्यालयले ७१ प्रतिशत परिणाम प्राप्त गरेको छ । ११ जना विद्यार्थीहरूले ३.६ जिपिएभन्दा बढी अङ्क प्राप्त गर्न सफल भएका छन् भने जम्मा १०७ जना विद्यार्थीहरु कक्षा ११ वा माथिल्ला विभिन्न विषय र संकायमा पढ्नको लागि योग्य बनेका छन् ।

४३ जना विद्यार्थीहरू साउन अन्तिम सातादेखि सुरु हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुने प्रधानाध्यापक खरेलले जानकारी दिएका छन् ।

यसपटकदेखि विद्यालयको भर्खरै नवनिर्मित नमुना भवनमा कक्षा ११ र १२ का कार्यक्रमहरू सञ्चालन हुनेछ । विद्यालयमा प्रयोगशाला कार्य, पुस्तकालय, विद्यार्थी परामर्श, साइकोसोसियो परामर्श, वृत्ति विकास सम्बन्धी परामर्श, खेलकुद, शैक्षिक भ्रमण, परियोजना कार्यहरू, सूचना प्रविधि युक्त शिक्षण सिकाई आदि विधिमार्फत विद्यार्थीको चौतर्फी विकास गरिनेछ ।

विद्यालयले थप अतिरिक्त कक्षाहरू सञ्चालन गरेर कमजोर विद्यार्थीको स्तर माथि उठाउन सक्दो प्रयास गरिरहेको छ ।

अटिजम स्रोत कक्षा समेत सञ्चालन गरेको विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहका विषयहरूमा नयाँ भर्ना खुल्ला गरेको छ । विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आइरहेको छ ।

Adv footer