२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा विद्यालय जान नसक्ने बालबालिकालाई घरमै शिक्षक


बिर्तामोड, असार १९ । शारीरिक अशक्तताका कारण विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकालाई शिक्षा पहुँच सुनिश्चित गर्न बिर्तामोड नगरपालिकाले घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

बैशाख १२ गतेदेखि सुरु ‘घरमा आधारित शिक्षा कार्यक्रम’ मार्फत नगरपालिकाले हाल १६ जना अपाङ्गता भएका बालबालिकालाई उनीहरूकै घरमा शिक्षक पठाएर पढाउन थालेको हो ।

बिर्तामोड नगरपालिकाको अगुवाइमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम’ अन्तर्गत यो विशेष शैक्षिक अभियान बिर्तामोडमा लोकप्रिय बन्दै गएको छ ।

कार्यक्रममा करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले लागत साझेदारी गरेका छन् । यस सहकार्यले शिक्षामा समावेशिता र पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमको प्रभावकारिता र अवस्थाबारे जानकारी लिन नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा एक टोलीले हालै अनुगमन गरेको छ ।

टोलीले बालबालिकाको घरमै पुगेर उनीहरूको सिकाई अवस्थाबारे जानकारी लिएको थियो । अनुगमनका क्रममा भेटिएकामध्ये तीनजना बालबालिका बहु अपाङ्गताका कारण विद्यालय जान नसक्ने अवस्थामा रहेको पाइएको थियो ।

अनुगमन टोलीमा महिला विकास अधिकृत पुष्पा कार्की, युगकुमारी भट्टराई, कञ्चन बाँस्कोटा तथा करुणा फाउन्डेसनकी प्रतिनिधि अनुष्का केसी सहभागी थिए ।

यस कार्यक्रममार्फत बालबालिकालाई अक्षर ज्ञान, आफ्नो नाम लेख्ने अभ्यास र रङ भर्ने जस्ता आधारभूत सीपहरू सिकाइन्छ ।

उनीहरूलाई आवश्यक पर्ने किताब, कापी, कलम, रङ लगायतका सम्पूर्ण शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।

नगर उपप्रमुख संग्रौलाले कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित हुन नहुने बताए । ‘अपाङ्गताका कारण विद्यालय जान नसक्ने बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न नगरपालिकाले यो विशेष कार्यक्रम ल्याएको हो’, उनले भने ।

Adv footer