२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

दमकमा ध्रुवतारा खुला फुटसल प्रतियोगिता हुने


दमक, असार २१ । झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो ।

यही साउन २ र ३ गते हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको क्लबका सचिव हिरामणि खड्काले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिमका बारे तयारी सुरु गरिएको हो ।

सचिव खड्काका अनुसार प्रतियोगिता दमक-५ स्थित बिस्ट फुटसल मैदानमा हुनेछ । प्रतियोगितामा दमकसहित झापा, मोरङ, सुनसरी र इलामका दुई दर्जन फुटसल टिमले भाग लिने उनले बताए ।

प्रतियोगिताको विजेताले नगद ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविपजेताले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खड्काले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने क्लबले जनाएको छ ।

दमकमा २०४८ सालमा स्थापना भएको क्लब अखिल नेपाल फुटबल संघमा पनि आबद्ध रहेको छ । त्यस्तै, पूर्वी नेपालमा हुने फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

दमकमा स्थानीयस्तरमा फुटबलको प्रवर्धन गर्दै फुटबल प्रतियोगिता आयोजना गरिरहेको क्लबले पहिलोपटक फुटसल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

Adv footer