
बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा यो वर्षको कोरा राइडको तयारी पूरा भएको छ । यो वर्ष राइडरहरुले स्वेच्छाले प्रदान गरेको रकमबाट पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइनेछ ।


कम्तिमा २० वटा साइकल क्षमताको स्ट्यान्ड निर्माणका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि राइडरलाई अन्य सहयोगीले प्रतिकिलोमिटर १०० रुपैयाँ प्रदान गर्न सक्ने छन् ।


यसैबीच, साइकल संस्कृतिको विकासक्रममा रहेको झापाको बिर्तामोडमा सन् २०२५ को झापा कोरा राइड च्यालेन्जको सम्पूर्ण तयारी पूरा भएको हो । यो वर्षको मुख्य प्रायोजक लेजर भिजन रिफ्राक्टिभ सर्जरी सेन्टर बिर्तामोड रहेको छ । सेन्टरले जर्सीसमेत उपलब्ध गराउनेछ ।


यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी ३०० जनाभन्दा बढी राइडरले अनलाइन दर्ता गरिसकेको झापाका साइकल अभियन्ता तथा राइडको संयोजन संस्था प्याक एन्ड पेडलका सञ्चालक आकाश श्रेष्ठले जानकारी दिए ।
राइडमा पाँच वर्षदेखि ६५ वर्ष उमेर समूहका राइडरहरुले ३५ र ५० किलोमिटर दूरीको साइकल यात्रा गर्नेछन् । अनलाइनमार्फत दर्ता हुने राइडरले जर्सी, बफ, मेडल र डिजिटल प्रमाणपत्र प्राप्त गर्नेछन् भने विभिन्न पुरस्कार योजनामा सहभागी हुन पाउने छन् ।


यो वर्ष कोरा राइडमा झापाका चार पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिनेछ । प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ ।


अर्का साइकल अभियन्ता पूर्ण गौलीका अनुसार सन् २०२५ को कोरा राइडको रुट तय भइसकेको छ । बिर्तामोड आँखा अस्पतालबाट सुरु हुने राइड ओमचोक–अर्जुनधाराधाम–मदनपुर–सधुटार–होक्से–बुधबारे–मागुरमाडी–बाँसबारी सिमसार क्षेत्र–सालबरी हुँदै इन्द्रेणी पार्टी प्यालेस बिर्तामोडमा समापन हुनेछ ।


यो वर्षको यात्राका लागि हिमालयन एभरेस्ट इन्स्युरेन्सले दुर्घटना बीमा गरिदिने भएको छ भने बिएन्डसी हस्पिटलले एम्बुलेन्सको व्यवस्था गरिदिनेछ ।
त्यस्तै, राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको छ । उपहारअन्तर्गत सनसाइन भिल्ला फिक्कलका तर्फबाट दुई जोडीलाई बस्ने सुविधाको व्यवस्था रहेको छ ।
त्यस्तै, इन्द्रेणी ब्यांक्वेटले हल, सोही हलमा निर्माण व्यवसायी कुमार गिरीले राइड समापनपछि खानाको व्यवस्था, ऋतिका डेरीले लस्सी, रोट्रयाक्ट क्लब अफ बिर्तामोड, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिड टाउनले ब्याच, बुधबारे साइक्लिस्टले होटल रोयल रत्नमा खाजाको व्यवस्था गरेको छ ।
झापा कोरा राइड २०२५ मा सहभागी सबै राइडरको बाइक सर्भिसिङमा प्याक एन्ड पेडलले ४० प्रतिशत छुट दिने व्यवस्था पनि उपहारमा समेटिएको छ ।
कोरा राइडको उपहार प्राप्त गर्न यात्राअगाडि अनलाइन दर्ता गरेर राइड पूरा गरिसक्नुपर्ने नियम रहेको अर्का साइकल अभियन्ता अशोक श्रेष्ठले बताए ।
झापामा हुन लागेको छैटौँ संस्करणको झापा कोरा २०२५ नेपालकै ठुलोमध्येको साइकल कार्यक्रम हो । काठमाडौँ उपत्यकाबाहिर झापामा सर्वाधिक साइक्लिस्ट सहभागी हुने गरेका छन् ।
तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।