२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

झापा इनर्जीको आइपिओ स्वीकृत


बिर्तामोड, असार ३२ । सौर्य ऊर्जा उत्पादनमा संलग्न झापा इनर्जी लिमिटेडले धितोपत्र बोर्डबाट सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरका सेयर सार्वजनिक रूपमा जारी गर्ने तयारी गरेको हो । कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँमा जारी गर्नेछ ।

यस सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटललाई दिइएको छ । १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना सञ्चालक झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ को माघ १० गतेबाट विद्युत उत्पादन सुरु गरेको जनाएको छ ।

कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तर्गतको बुलुचोक सब–स्टेसनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

माघ १० देखि असार ३१ गतेसम्मको अवधिमा कम्पनीले कुल ७२ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ । सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट पाँच करोड २८ लाख ८४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

ऊर्जा क्षेत्रमा निजी लगानीको बढ्दो आकर्षणसँगै झापा इनर्जीको सेयर निष्कासनलाई लगानीकर्ताले चासोपूर्वक हेरिरहेका छन् ।

Adv footer