२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

चिया बगानबाहेकका श्रमिकको बढ्यो तलब


बिर्तामोड, साउन २ । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब १९ हजार ५५० रुपैयाँ तोक्ने निर्णय गरेको हो ।

श्रमिक प्रतिनिधि, रोजगारदाता तथा सरकारी पक्षबीच भएको छलफलपछि उक्त निर्णयमा पुगिएको हो । अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २५० रुपैयाँ बढी यो दर सहमतिका आधारमा तय गरिएको हो ।

न्यूनतम तलब निर्धारण समितिका अध्यक्ष प्रदिप कोइरालाको संयोजकत्वमा बसेको बैठकले लामो समयको छलफलपछि सर्वस्वीकृत निर्णय लिएको हो । चिया बगानमा भने न्यूनतम पारिश्रमिकबारे अझै थप छलफल आवश्यक भएको समितिको भनाइ छ ।

श्रममन्त्री शरतसिंह भण्डारीले विगतमा श्रमिक र रोजगारदाताबीच पारिश्रमिक निर्धारणको विषयमा सहमति जुट्न नसकेको भए पनि यसपालि तीन पक्षको लचकता र संयोजनले साझा निर्णय सम्भव भएको बताए ।

ट्रेड युनियनले २१ हजारको माग राखेका थिए भने रोजगारदाता १९ हजार ५ सयमै अडिएका थिए । अन्तिममा ५० रुपैयाँ थपेर १९ हजार ५५० मा सहमति बनेको हो ।

सरकारले अब तय भएको नयाँ न्यूनतम तलब सबै क्षेत्रमा कार्यान्वयन गर्न नीतिगत रूपमा आवश्यक पहल गर्ने बताएको छ । यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।

प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो । आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ  रहेको छ । यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ । 

त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।  यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ । आंशिक समय काम गर्ने कामदारको हकमा भने प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ ।

यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकहरूको हकमा भने लागु हुने छैन। उनीहरूको पारिश्रमिक निर्धारणका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी छुट्टै निर्णय गरिने निर्णयमा उल्लेख छ ।

Adv footer