
बिर्तामोड, भदौ ११ । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यति मात्र होइन आज धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको बताए । झापाको आकाशमा बिहानैदेखि हल्का बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।

भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । ‘आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा अलि धेरै पानी पर्ने सम्भावना छ ।’

कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । तर, भारी वर्षा सबैतिर एकनासले नभई खण्डित रुपमा हुने उनको भनाइ छ ।