२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

राजंशीले सुरु गरे कचनकवल स्तम्भबाट पाथिभरासम्म एकल साइकलयात्रा


बिर्तामोड, भदौ १६ । झापा मेचीनगरका मिलन राजवंशीले आजदेखि नेपालको सबैभन्दा होचो स्थान कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथिभरासम्म एकल साइकलयात्रा सुरु गरेका छन् ।

आज बिहान साइकलयात्री राजवंशीलाई कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडा अध्यक्ष नुरजामा मिया, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले राजवंशीलाई विदाई गरेका छन् ।

कार्यक्रम संयोजक कर्णबहादुर राजवंशीका अनुसार सो अवसरमा कचनकवलको पहिचान झल्कने सामग्री र टिसर्ट प्रदान गरेर साइकलयात्री राजवंशीलाई शुभकामना दिइएको थियो ।

१९ वर्षीय राजवंशीले “छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर” भन्ने नारासहित नेपालको होचो भूभागलाई चिनाउने र युवालाई कुलतबाट बचाउने सन्देश दिने उद्देश्यले साइकलयात्रा सुरु गरेको जनाएका छन् ।

राजवंशी झापामा हुने साइकल प्रतियोगिताका प्रथम हुने खेलाडी हुन् । उनी तीव्र गतिमा र अप्ठ्यारा बाटो तथा उकालो ओरालोमा पनि सजिलैसँग साइकल कुदाउन सक्छन् ।

उनी आज पहिलो दिन इलामसम्म पुग्ने र भोलिपल्ट फिदिमसम्म पुगेर ताप्लेजुङका लागि यात्रामा निस्कने योजनामा रहेका छन् । तेस्रो दिन फिदिमबाट सिंहपुरसम्म र चौथो दिन त्यहाँबाट ठुलो फेदीसम्म पुग्ने राजवंशीले बताए ।

Adv footer