
भद्रपुर, असोज २६ । झापा भद्रपुरको कलवलगुढीमा जारी दोस्रो संस्करणको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा बिर्तामोडको गामस्ता स्पोर्टस् हब विजयी भएको छ ।




गामस्ताले आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै आफ्नो पहिलो खेलमा स्पष्ट ३ अंक जोडेको छ । आयोजकमाथि गामस्ताले १–० गोल अन्तरले जित दर्ता गरेको हो । खेलको ३८ औँ मिनेटमा गामस्ताका स्मल रुचालले गरेको गोल नै जितका काफी भयो ।




खेलको प्लेयर अफ द म्याच गामस्ताका रोमन खड्का भए । उनलाई झापा ११ एफसीका प्रशिक्षक अंकुर तामाङ र सञ्चारकर्मी ईश्वर अधिकारीले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।




त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।