
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत हिमाली युनाइटेड क्लब विजयी भएको छ । जितसँगै हिमाली समूह ख को शीर्ष स्थानमा पुगेको छ ।




आज भएको आफ्नो दोस्रो खेलमा अर्जुनधाराको गामस्ता स्पोर्टस् हबलाई हराउँदै हिमाली समूहको शीर्ष स्थानमा उक्लिएको हो । हिमालीले १–० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा जित भने हिमालीले निकालेको हो ।




खेलको ३२ औँ मिनेटमा हिमालीका पुनम पौडेलले गरेको गोल नै निर्णायक बनेको थियो । निर्धारित ५० मिनेटको खेलमा गामस्ताले पनि अवसरहरु सिर्जना गरेको थियो । तर, गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।




हिमालीले यसअघि पहिलो खेलमा धाइजन चारआली फुटबल क्लबलाई हराएको थियो । गामस्ताले आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरलाई हराएको थियो । हिमालीको दुई खेलमा ६ अंक पुगेको छ भने त्यत्ति नै खेलमा गामस्तासँग ३ अंक छ ।




खेलको प्लेयर अफ द म्याच हिमालीका अभिषेक किस्कु भए । उनलाई भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठ र लेखापाल अनुप श्रेष्ठले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।
प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।