२०८२ असोज २८ मंगलबार
Jhapa Today
Adv top

यु १३ लिग फुटबलमा आयोजकको पहिलो जित


बिर्तामोड, असोज २८ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ ।

आज भएको आफ्नो दोस्रो खेलमा धाइजन चारआली फुटबल क्लबलाई हराउँदै आयोजकले ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा भद्रपुर एफटिसी गामस्ता स्पोर्टस् हब बिर्तामोडसँग पराजित भएको थियो ।

भद्रपुर एफटिसीले धाइजन चारआलीलाई २–१ गोल अन्तरले हराउँदै नतिजा आफ्नो पक्षमा पारेको हो । खेलको १८ औँ मिनेटमा भद्रपुरका अनामोल दाहालले गरे भने त्यसको एक मिनेटमै धाइजन चारआलीका अभिषेक राजवंशीले गोल फर्काए ।

तर, खेलको ४३ औँ मिनेटमा भद्रपुरका अस्बिबिन तामाङले एक गोल थप्दै जित निश्चित बनाए । जारी प्रतियोगितामा धाइजन चारआली अंकविशीन छ । उसले दुई खेल खेलिसकेको छ ।

खेलको प्लेयर अफ द म्याच भद्रपुरका ओसिन बस्नेत भए । उनलाई भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, सचिव तीर्थ ढकाल, आयोजक अध्यक्ष मित्र बस्नेत, सचिव विवेक चम्लागाईंले नगद ५०० र ट्रफी प्रदान गरे ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।

Adv footer