
बिर्तामोड, असोज २८ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत सैनिक युथ क्लब रोकिएको छ ।




लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा भद्रपुर ब्लेजर्ससँग सैनिक रोकिएको हो । दुई खेलमा जितविहीन भद्रपुर ब्लेजर्सले आज सन्त्वाना जित दर्ता गरेको छ ।




सैनिक दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंकमा छ । ३ अंक रहेको भद्रपुर ब्लेजर्स प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलमा भद्रपुरका श्रीजल तामाङले खेलको चौथो र ३२ औँ मिनेटमा गोल गरे ।




खेलको प्लेयर अफ द म्याच भद्रपुर ब्लेजर्सका गौरव मुर्मु भए । आयोजक अध्यक्ष मित्र बस्नेत र भेट्रान्स खेलाडी प्रेम सुब्बाले नगद ५०० र ट्रफी प्रदान गरे ।




भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।




प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।