२०८२ असोज २९ बुधबार
Jhapa Today
Adv top

यु १३ फुटबलः एकता, सैनिक, हिमाली र धाइजन चारआली सेमिफाइनलमा


बिर्तामोड, असोज २९ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् । आज तीन खेल भएसँगै लिग चरण सकिएको हो ।

समूह ‘क’ बाट एकता स्पोर्टिङ क्लब बिर्तामोड समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सैनिक उपविजेताका रुपमा अन्तिम चारमा सुरक्षित भएको छ । आज भएको खेलमा एकताले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० गोल अन्तरले हरायो ।

खेलको २५ औँ र ४२ औँ मिनेटमा एकताका लागि सागर राजवंशीले गोल गरे । खेलको प्लेयर अफ द म्याच एकताका रसिक खनाल भए । उनलाई अभिभावक मुना तामाङ र ममता अधिकारीले नगद ५०० र ट्रफी प्रदान गरे ।

यो समूहबाट भद्रपुर ब्लेजर्स र काँकरभिट्टा लिग चरणबाटै घर फर्किएका छन् । पहिलो संस्करणमा काँकरभिट्टा सेमिफाइनलसम्म पुगेको थियो भने भद्रपुर ब्लेजर्स प्रतियोगितको उपविजेता बनेको थियो ।

त्यस्तै, आज भएको दोस्रो खेलमा हिमाली युनाइटेड विजयी बन्यो । । हिमाली समूह ‘ख’ को विजेता बनेको छ । ऊसँग स्पष्ट ९ अंक छ । जारी लिगमा हिमालीले मात्र अपराजित यात्रा तय गरेको हो । उसले आज आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टरलाई २-० गोल अन्तरले हरायो ।

जितका दुवै गोल पुनम पौडेलले गरे । उनले खेलको १७ औँ र ४७ औँ मिनेटमा गोल गरे । पौडेल उच्च गोलकर्ताको दौडमा छन् । खेलको प्लेयर अफ द म्याच सहनज खड्का भए । उनलाई अभिभावकले नगद ५०० र ट्रफी प्रदान गरे ।

समूह ‘ख’ कै आजको अन्तिम खेलमा धाइजन चारआलीले गामस्ता स्पोर्टस् हबलाई हरायो । आजको जितसँगै धाइजन चारआली पनि सेमिफाइनलमा प्रवेश गरेको छ । धाइजन चारआलीले गामस्तालाई २-० गोल अन्तरले हरायो ।

खेलको ११ औँ मिनेटमा जस्टिन तामाङ र इन्ज्युरी समयमा दिवस उराउले गोल गरे । खेलको प्लेयर अफ द म्याच तामाङ भए । उनलाई भद्रपुरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले नगद ५०० र ट्रफी प्रदान गरे ।

समूख ‘ख’ मा धाइजन चारआली, गामस्ता र भद्रपुर एफटिसीको समान ३ अंक भए पनि गोल फरकका आधारमा धाइजन चारआली समूहको उपविजेता बनेको छ । अब भोलि हुने सेमिफाइनल खेलमा हिमालीले सैनिकसँग खेल्नेछ भने धाइजन चारआलीले एकताको सामना गर्नेछ ।

भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा जारी प्रतियोगितामा एकता स्पोर्टिङ क्लब बिर्तामोड, सैनिक फुटबल क्लब बिर्तामोड, भद्रपुर झापा गोल्डकप र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

त्यस्तै, हिमाली युनाइटेड क्लब भद्रपुर, धाइजन चारआली फुटबल क्लब मेचीनगर, गमस्ता स्पोर्टस् हब बिर्तामोड र आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर एउटा समूहमा छन् ।

प्रतियोगितामा विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मित्रबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५०० र ट्रफी प्रदान पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकले नगद दुई हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन हजार पाँच सय नगदसहित ट्रफी पाउने सदस्य बिकी जैसवालले बताए । फाइनल खेल कात्तिक १ गते हुनेछ ।

Adv footer