
बिर्तामोड, फागुन ४ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज सोमबारदेखि उम्मेदवार तथा राजनीतिक दलहरूले औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन्।
निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने प्रावधान रहेको छ। सोही नियमअनुसार आजदेखि आगामी फागुन १८ गते राति १२ बजेसम्म उम्मेदवारहरूले मतदातासमक्ष पुगेर औपचारिक रूपमा मत माग्न पाउनेछन्।
निर्वाचन आयोगले आचारसंहिता पालनाका सवालमा शून्य सहनशीलताको नीति अपनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने, जरिवाना गर्ने र गल्तीको प्रकृति हेरेर उम्मेदवारी समेत खारेज गर्न सकिने कानुनी व्यवस्था छ।
दलहरूले तोकिएको मापदण्डमा रहेर पत्रपत्रिका र अनलाइन माध्यममा विज्ञापन गर्न पाउने भए तापनि सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन पूर्ण रूपमा निषेध गरिएको छ। साथै, चुनावी सभा वा मञ्च तयारीमा भएको खर्चको विवरण उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।




