बिर्तामोड, फागुन १९ । झापामा खाना पकाउने ग्यासको अभाव भएको छ । दुई सातादेखि झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन कठिन भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।


झापामा मेची, त्रिशक्ति, पाथिभरा ग्यास प्रयोग हुँदै आएका छन् । तर, मागअनुसारको ग्यास उपलब्ध नभएको बिर्तामोडका बिक्रेता पूर्ण तामाङले झापा टुडेलाई जानकारी दिए ।

ग्यासको अभावका कारण उपभोक्ता मारमा परेका छन् । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।

ग्यास नपाएपछि धेरै उपभोक्ताले साथीभाइ तथा छिमेकीसँग भएको ग्यास सापटी मागेर प्रयोग गरिरहेको बताउँछन् । चुनावपछि ग्यास अभाव नरहने विश्वास गरेको तामाङले बताए ।

नेपाल आयल निगमको व्यवस्थापकीय लापरबाहीले खाना पकाउने एलपी ग्यासको चरम अभाव कायम भएको हो । उपभोक्ता खाली सिलिन्डर काँधमा बाकेर भौँतारिरहनुपरेको छ ।








