२०८३ जेठ १३ बुधबार
Jhapa Today
Adv top

आकासिँदै सुनको भाउ, तोलाको तीन लाख २८ हजार ६ सय


बिर्तामोड, फागुन १९ । नेपाली बजारमा सुनको भाउ झन्-झन् बढ्न थालेको छ । आज मंगलबार सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार तोलामा पाँच हजार ६०० रुपैयाँ बढेर तीन लाख २६ हजार एक सय रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदस ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो ।

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी मध्यपूर्वमा चुलिएको द्वन्द्वका कारण लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुन–चाँदीको मूल्य उकालो लागेको हो ।

पछिल्लो समय इरान, इजरायल र अमेरिकाबीचको तनावले विश्व बजारमा अनिश्चितता बढाएको छ, जसको असर नेपाली बजारमा समेत परेको देखिन्छ ।

Adv footer