
बिर्तामोड, चैत ४ । झापाको बिर्तामोड कृषि थोक बजारमा आलु, फूलकोपी र टमाटरलगायत तरकारीको भाउ घटेको छ । आज हटिया लाग्ने दिन बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आलु रातो प्रतिकिलो १८ रुपैयाँदेखि २२ रुपैयाँ र सेतो आलुको १२ देखि १४ रुपैयाँ रहेको समितिले बताएको छ । एक सातायता आलुको मूल्य प्रतिकिलो २ रुपैयाँले घटेको छ ।
नेपाली ठुलो टमाटर प्रतिकिलो २० देखि २५ रुपैयाँ मूल्य रहेको छ भने भारतीय टमाटर प्रतिकिलो २० देखि २१ रुपैयाँ कायम भएको छ । प्याज प्रतिकिलो २० देखि ३० रुपैयाँ रहेको छ ।
पहाडको फूलकोपी (काउली) भने पछिल्लो एक सातामा आधा घटेको छ । खुद्रमा प्रतिकिलो ५० रुपैयाँसम्म रहेको फूलकोपी थोकमा प्रतिकिलो २० देखि २५ रुपैयाँ रहेको छ । तराईको फूलकोपीको मूल्य पनि उस्तै छ ।
त्यस्तै, इस्कुस प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । भिन्डी १०० देखि १२० रुपैयाँ, सेतो मुलाको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको छ । सजिना १०० देखि १४० रुपैयाँ प्रतिकिलो छ ।
घिउ सिमी प्रतिकिलो ५० देखि ६० रुपैयाँ रहेको छ । स्थानीय र भारतीय टाटे सिमी प्रतिकिलो २५ देखि ३० रुपैयाँमा खरिदबिक्री भएको छ । तने बोडी १०० रुपैयाँ रहेको छ ।
बिर्तामोडको थोक बजारमा बैगुन लामो र डल्लो ३० रुपैयाँ, करेला १०० देखि १२० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यस्तै, ब्रोकाउली प्रतिकिलो ३० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
लौका ४० देखि ५० रुपैयाँ, बन्दा १० देखि १२ रुपैयाँ, फर्सी पाकेको २० देखि २५ रुपैयाँ, फर्सी ३० देखि ३५ रुपैयाँ प्रतिकिलो रहेको छ । परवल प्रतिकिलो १२० रुपैयाँ रहेको छ ।
खासा लसुन १६० रुपैयाँदेखि २२० रुपैयाँ, अदुवा ६० रुपैयाँ र हरियो खुर्सानी १४० देखि १४५ रुपैयाँ प्रतिकिलो कारोबार भएको छ ।




