
बिर्तामोड, चैत ४ । झापाको मेचीनगर क्षेत्रका किसानहरू सिमल तरुलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँझो तथा सिँचाइ सुविधा नभएका जमिनमा पनि राम्रो उत्पादन हुने र थोरै लगानीमा नगद आम्दानी हुने भएकाले किसानहरू यो खेतीतर्फ लागेका हुन् ।
मेचीनगर–७ का किसान राजु श्रेष्ठले एक वर्षअघि १५ कठ्ठा जमिनमा सिमल तरुल खेती गरी करिब एक लाख रुपैयाँ बराबरको आम्दानी गरेको बताए । यस वर्ष उनले खेती विस्तार गर्दै एक बिघा जमिनमा सिमल तरुल लगाएका छन् ।
स्थानीय टंकप्रसाद खनालका अनुसार धान, मकै वा अन्य अन्नबालीको तुलनामा सिमल तरुल खेती गर्न सजिलो र कम मेहनत लाग्ने भएकाले किसानको आकर्षण बढेको हो । उनले पनि यस वर्षबाट १५ कठ्ठा जमिनमा व्यावसायिक रूपमा सिमल तरुल खेती सुरु गरेका छन् ।
मेचीनगर–७ का धनकुटे र तामाङ बस्तीका धेरै किसानले पनि करेसाबारी तथा बाँझो जमिनमा सिमल तरुल खेती विस्तार गरिरहेका छन् । बजारमा माग बढ्दै गएपछि स्थानीय व्यापारीसँगै सीमावर्ती भारतका व्यापारी समेत किसानकै खेतमा पुगेर खरिद गर्ने गरेका छन् ।
किसानहरूका अनुसार सिमल तरुल किसानको बारीबाट प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । पुसदेखि फागुनसम्म यसको खरिदबिक्री बढी हुने र माघे सङ्क्रान्तिको समयमा माग झनै बढ्ने गर्दछ ।
कृषकहरूले स्थानीय सरकारले उत्पादनको स्थिर बजार र मूल्य सुनिश्चित गर्न सहयोग गरे सिमल तरुल खेती किसानको मुख्य आम्दानीको स्रोत बन्न सक्ने बताएका छन् ।




