२०८२ चैत्र ७ शनिबार
Jhapa Today
Adv top

वर्षा गराउने प्रणाली पूर्वतिर, हावाहुरीको गति ११९ किलोमिटर प्रतिघण्टा पुग्ने


बिर्तामोड, चैत ७ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरू भएको वर्षा पूर्वी नेपाल आइपुगेको छ । हिजो राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार झापाको दक्षिणी क्षेत्र र मोरङको विराटनगर क्षेत्रमा आज अत्यन्तै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना देखिएको छ ।

प्रशासनका अनुसार हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ । प्रि–मनसुन सिजनको यो समयमा चल्ने तीव्र हावाहुरीले ठुलो भौतिक तथा मानवीय क्षति पुर्‍याउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराइएको हो ।

प्रशासनले विशेषगरी रुखहरू ढल्ने, घरका छाना तथा कमजोर संरचनाहरू उड्ने र विद्युत् एवम सञ्चारका सुविधाहरू अवरुद्ध हुन सक्ने जोखिम औँल्याएको छ ।

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न अनुरोध गरिएको छ । हावाहुरी चलेको समयमा घरका झ्यालढोका राम्रोसँग बन्द गर्न र आगोका स्रोतहरू (ग्यास, चुलो आदि) बन्द राख्न, सडकमा सवारी साधन चलाइरहेको भए, तत्काल रोकेर सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिइएको छ ।

अग्ला रुखहरू, टेलिफोन वा बिजुलीका खम्बा, तारहरू र कमजोर संरचनामुनि नबस्न, विद्युतीय उपकरणहरू नचलाउन र कतै बिजुलीको तार लत्रिएको देखिएमा त्यसलाई नछुन र टाढै रहन आग्रह गरिएको छ ।

Adv footer