
बिर्तामोड, चैत ९ । भूगोलले अर्जुनधारा नगरपालिकाभित्र रहे पनि बिर्तामोडको सिमाना महानन्दचोकमा रहेको नवनीत एकेडेमी (बोस्टन मन्टेश्वरी) झापाको उदाउँदो संस्थागत विद्यालय हो । पढाइसँगै क्रिकेटमा अग्रगामी छलाङ मार्दै आएको यो विद्यालय कक्षा ९ सम्म सञ्चालनमा छ ।
स्कुल, क्रिकेट र होस्टल एउटै कम्पाउन्डमा रहेको बोस्टनले अर्जुनधारा-६ मा विगत छ महिनादेखि बोस्टन क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । झापाका कुनै पनि विद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको इनडुअर र आउटडुअर क्रिकेट ट्रेनिङ सेन्टर बोस्टनसँग मात्र छ ।

ट्रेनिङ सेन्टरमा हाल ९६ जना विद्यार्थी र अन्य क्रिकेटरले प्रशिक्षण लिइरहेको विद्यालयकी खेलकुद संयोजक वर्षा खनाल शर्माले झापा टुडेलाई जानकारी दिइन् । सेन्टरमा ८ वर्षदेखि २८ वर्ष उमेर समूहका खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । सेन्टरमा भारतको दिल्लीबाट आएका जग्गु अली र कमलले क्रिकेटका सीप र खेलकला कौशल सिकाइरहेको शर्माले बताइन् ।
बोस्टन क्रिकेट एकेडेमीमा टर्फ विकेट पिच रहेको छ । आउट डुअर मैदानमा प्रतियोगिता पनि सञ्चालन गर्न सकिने विद्यालयले जनाएको छ । ३५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको मैदान र ट्रेनिङ सेन्टरमा समयतालिका मिलाएर प्रशिक्षण हुने गरेको छ ।

पढाइ, खेलकुद र होस्टलको सुविधा एउटै छानामुनि भएकै कारण बोस्टनमा विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयकी प्रिन्सिपल डा. रिता बास्तोलाले बताइन् । विद्यालयले विद्यार्थीको सुविधका लागि अत्याधुनिक नयाँ भवन निर्माण गरेको छ । आउँदो शैक्षिकसत्रदेखि सो भवनमा अध्ययन सुरु गरिने विद्यालयले जनाएको छ ।
त्यस्तै, विद्यालयमा अतिरिक्त क्रियाकलापको रुपमा हप्तामा एकदिन संस्कृत भाषको कक्षासमेत सञ्चालन हुँदै आएको छ । कक्षा १ देखि माथिका कक्षामा संस्कृतको पढाइ हुने गरेको विद्यालयकी सहायक प्रिन्सिपल सिर्जना दंगालले बताइन् । विद्यालयमा अर्जुनधारामा पहिलोपटक रोबटिक्स कक्षाहरु पनि सञ्चालन भइरहेको छ ।
क्रिकेटलगायतका खेलकुद गतिविधिमा नगरमै उत्कृष्ट रहेको नवनीत एकेडेमी अर्थात बोस्टन स्कुलमा क्रिकेटका आन्तरिक तथा मैत्रीपूर्ण खेलहरु धेरै हुने गरेका छन् । झापामा युवा क्रिकेटर उत्पादनका लागि एकेडेमी सञ्चालन गर्दै आएको विद्यालयबाट राष्ट्रिय खेलाडीहरु उत्पादन भइसकेका हुन् ।
बोस्टनका उत्पादनहरु २५ जनाभन्दा बढीले विभिन्न उमेर समूहमा कोशी प्रदेशस्तरीय प्रतियोगितामा छनोट भएर खेलिसकेका छन् भने दिपु भूजेल र एलिस मण्डलले नेपाल अन्डर १६ को प्रतिनिधित्व गरिसकेका छन् ।
त्यस्तै, भारतको सिलिगुडीमा भएको सावित्रीदेवी जाजोडिया राष्ट्रिय गोल्डकप क्रिकेट प्रतियोगितामा नवनीत उपविजेता बनेको थियो । सिक्किममा सम्पन्न खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा विद्यालयका चारजना विद्यार्थीले रजत र कास्य पदक जितेको थिए ।

यसैबीच, विद्यालयले विद्यार्थीको सुविधाका लागि स्विमिङ पुलको निर्माण सुरु गरिसकेको छ भने क्रिकेटिङ जिम सञ्चालनको तयारीमा छ ।
अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएर पुरस्कृत हुँदै आएको प्रिन्सिपल बास्तोलाले जानकारी दिइन् । गत वर्ष युएईको दुबईमा भएको वर्ल्ड स्कुल समिटमा नवनीत एकेडेमी न्यु एजुकेसन लर्निङ सिस्टम विधातर्फ सम्मानित भएको थियो ।
विद्यालयका शिक्षक तथा अभिभावकको साथले विद्यालय त्यो स्थानमा पुग्न सफल भएको बास्तोलाले बताइन् । विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिमाझ नवनीत सम्मानित भएको हो ।
विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न विद्यालयले गरेको रचनात्मक र कलात्मक उत्कृष्टता बाहिर ल्याएकोमा गर्व लागेको विद्यालयका सञ्चालक विनित बास्तोलाले बताए ।




