बिर्तामोड, चैत ११ । झापामा हिजो आएको हावाहुरीले ठुलो क्षति गरेको छ । यसअघि एक हप्तापहिले पनि झापामा हावाहुरी र असिनाले क्षति पुर्याएको थियो ।

हिजो बिहान ८ बजेतिर आएको हावाहुरीले दमक-४ कृष्ण मन्दिरछेउमा रहेको विद्युतको पाँचवटा पोल ढालेको छ । दमक ४ बस्ने ६५ वर्षीय टंक कटुवालको इटाले बनेको जस्ताको छानो भएको दुईतले घरको छानोमा एउटा पोल ढलेर सामान्य क्षति पु¥याएको छ ।
त्यस्तै, कमल-२ छलफल चोकमा बिर्तामोड घर भएकी उर्मिला अग्रवालले सञ्चालन गरेको हाइजिङ प्याक्स नेपाल प्रालि (जुस फ्याक्ट्री) मा क्षति पुर्याएको छ । जुस फ्याक्ट्रीमा माथिबाट लगाइएको सम्पूर्ण ट्रस र टिनहरु हावाले क्षति पुर्याएको हो ।
हिजो साँझ ५ः३० बजे अविरल वर्षा र असिनाले प्रहरी चौकी पाठामारीमा रहेको भान्सा घरको जस्तापाता सबै दुलो पारेर काम नलाग्ने अवस्थामा पुगेको छ । छानो पूर्णरुपमा क्षति भएपछि प्रहरीले हाललाई बरण्डामा खाना पकाउने गरेको जनाइएको छ ।
अविरल वर्षासँगै परेको असिनाले भद्रपुर-३ ज्ञानेचोकका तीनजनाको घरमा क्षति पु¥याएको छ । उनीहरुको घरको छानोमा लगाएको टिन दुलो परेको हो । भद्रपुर-३ ज्ञानेचोक बस्ने उमेश मगरको एकतले भुइँघर, सोही ठाउँ बस्ने हेमबहादुर लिम्बूको एकतले भुइँघर र दिलबहादुर राईको एकतले भुइँघरको टिनको जस्तामा प्वाल परेको प्रहरीले जनाएको छ ।




