२०८२ चैत्र १२ बिहीबार
Jhapa Today
Adv top

हावाहुरी र असिनाले भद्रपुरको डेविट कृषि फर्ममा ५० लाखको क्षति


बिर्तामोड, चैत १२ । झापामा आएको तीव्र गतिको हावाहुरी र असिनापानीले भद्रपुरको एक तरकारी खेतीमा ठुलो क्षति पुर्‍याएको छ । बजार पठाउने तयारीमा रहेको टमाटरमा बढीमा क्षति पुगेको छ ।

भद्रपुर-१० कलवलगुढीमा सञ्चालनमा रहेको डेविट कृषि फर्ममा असिना र हावाहुरीले तरकारी बाली पूर्णरुपमा नष्ट गरिदिएको हो । सरकारले क्षतिको विवरण संकलन गरिरहेको भए पनि फर्मले ५० लाख रुपैयाँ हाराहारी क्षति भएको जनाएको छ ।

राति ८ बजेदेखि १० बजेसम्म आएको हावाहुरी र असिनाले १५ बिघा क्षेत्रफलमा लगाएको तरकारी बाली, फर्मका श्रमिक बस्ने घर, बीऊ उत्पादन घर लगायतमा क्षति पुगेको छ ।

फर्मका सञ्चालक खगेन्द्र महतोका अनुसार असिना र हावाहुरीले १० बिघामा रहेको टमाटर पूर्णरुपमा नष्ट गरिदिएको छ । पाकिसकेको र पाक्दै गरेको ४० हजार बोट टमाटर असिनाका कारण काम नलाग्ने भएको छ ।

त्यस्तै, एकएक बिघामा लगाइएको खुर्सानी, काँक्रा, करेला, बोडी, १० कठ्ठामा लगाइएको सिम्ला खुर्सानी, पाँच कठ्ठामा रहेको सिमी र फर्सीको बाट नै नरहनेगरी क्षति पुगेको महतो जानकारी दिए ।

फर्मका अर्का सञ्चालक डेविट शिवाकोटीले सरकारले क्षतिको विवरण संकलन गरिसकेर क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्राकृतिक विपद्का कारण कृषक समास्यमा पर्न नहुने उनले बताए ।

त्यस्तै, महतोले जग्गा भाडाबापतको रकम पनि सरकारले छुट दिनुपर्ने अपिल गरेका छन् । फर्म रहेको जग्गा नेपाल सरकारको मातहत रहेको छ । २२ बिघा सो जग्गालाई वार्षिक चार लाख ८० हजार रुपैयाँ फर्मले भाडा तिर्दै आएको छ ।

Adv footer