
बिर्तामोड, चैत १९ । सीमापार संस्कृति सम्पदा र पर्यटनको उत्सव भन्ने मूल नाराका साथ कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने भएको छ ।
यही चैत २४ र २५ गते झापाको बिर्तामोडमा आयोजना हुने कार्यक्रम पर्यटन कार्यालय काँकरभिट्टाको प्रवर्द्धनमा हुन लागेको हो । उत्सवले नेपाल र भारतको बंगाल क्षेत्रबीच सांस्कृतिक आदान–प्रदान तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
उत्सव आयोजक समितिकी संयोजक इन्दिरा श्रेष्ठले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनका अनुसार कोशी प्रदेशलाई बंगालसँग पर्यटन र संस्कृतिका माध्यमबाट जोड्ने प्रयासस्वरूप यस्तो महोत्सव आयोजना गरिएको हो ।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाले उत्सवमा नेपालका १८ वटा र बंगालका १२ वटा स्टल रहने बताए । ती स्टलहरूमा स्थानीय खाद्य सामग्री, हस्तकला, तथा पर्यटनसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरिनेछ ।
उत्सवमा टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको सहभागिता रहनेछ भने उनीहरूको सेवा र प्याकेजहरूको मार्केटिङसमेत गरिनेछ । साथै, फोटो तथा चित्रकला प्रदर्शनी, सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति कार्यक्रमहरू पनि समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस महोत्सवले सीमापार पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।




