२०८२ चैत्र २४ मंगलबार
Jhapa Today
Adv top

काँकरभिट्टामा भारतीय पर्यटक तानातान गर्ने २४ विचौलिया पक्राउ


बिर्तामोड, चैत २४ । प्रहरीले झापाको सीमावर्ती क्षेत्र काँकरभिट्टाबाट नेपाल आउने यात्रुहरुलाई तानातान गर्ने २४ जना विचौलियालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती विचौलियाहरु यातायात कर्मचारी, आँखा अस्पतालका कर्मचारी र होटलका कर्मचारी छन् । उनीहरुलाई मेची भन्सार कार्यालय, बसपार्क तथा बजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

भारतको विभिन्न ठाउँबाट आएका पर्यटकहरुलाई काँकरभिट्टा बजार क्षेत्र र अन्य ठाउँहरुमा रहेका होटल र आँखा अस्पतालहरुमा तानातान गर्ने गरिएको छ ।

त्यस्तै, ती पर्यटकहरुलाई धार्मिक क्षेत्रहरु लगायत विभिन्न ठाउँहरुमा सम्पर्क गराइदिन्छौँ भनी तानेर हैरानी दिने गरिएको छ ।

पहिलोपटक सीमा नाकामा त्यसतर्फ प्रहरीले ध्यान दिएको हो । यात्रुहरुलाई झन्झट भइरहेको गुनासो आएपछि पहिलोपटक पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी निशेष चापागाईंले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई अब उप्रान्त त्यस किसिमको कार्य नगर्ने सर्तमा दैनिक तारिकमा साँझपख छोडिएको उनले जानकारी दिएका छन् ।

Adv footer