२०८२ चैत्र २६ बिहीबार
Jhapa Today
Adv top

ललितपुरमा चक्कु प्रहारबाट झापाका नेम्वाङ दाजुभाइको हत्या


बिर्तामोड, चैत २६ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार हुँदा झापाका दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्वाङ छन् ।

उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो । दुईपक्षको बीचमा विवाद हुँदा छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवैजनाको पेटमा गहिरो चोट लागेको थियो । 

उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

छुरा प्रहारमा संलग्न आरोपमा ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भएर ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

बुधबार साँझ नेम्वाङ दाजुभाइले फोन गर्दा सञ्जीवको मोबाइलमा पर्‍यो । उनीहरू एकापसमा अपरिचित हुन् । नचिनेको नम्बरबाट फोन आएपछि केहीबेर कुरा भएको र सोही क्रममा भनाभन भयो ।

फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले नेम्वाङ दाजुभाइलाई नै पाटन आउन भने । त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुग्छन् । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गर्छन् ।

Adv footer