
बिर्तामोड, चैत २७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठुलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल÷मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल÷मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ ।

अब १४.२ केजी ग्यासको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।

मूल्यवृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुनसक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।




