
बिर्तामोड, बैशाख ३ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागुहुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

नयाँ मूल्य कायम भएपछि अब हिलो वर्ग अन्तर्गतका तराईका विभिन्न क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन (आन्तरिकतर्फ) को नयाँ मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार यो निर्णय गरिएको निगमले स्पष्ट पारेको छ । मूल्यमा यति ठुलो वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको देखिएको छ ।
निगमका अनुसार यो समायोजन पश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा कायमै छ । अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।




