२०८३ बैशाख ३ बिहीबार
Jhapa Today
Adv top

इन्डो-नेपाल यु-१३ क्रिकेटः पटना र फूलबारी विजयी


बिर्तामोड, बैशाख ३ । झापाको अर्जुनधारामा जारी यु–१३ इन्डो–नेपाल टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को चौथो खेलमा भारत पटनाको हाइ पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीले विराटनगरको लायन्स क्रिकेट क्लबमाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।

पहिले ब्याटिङ गरेको लायन्स क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो । टोलीका लागि सुवास माब्दालले २१ बलमा ६० रनको विस्फोटक पारी खेले । युवराजसिंह बेगवानीले ३२ बलमा २१ रन तथा आशिष अधिकारीले ६ बलमा १९ रन जोडे ।

एचपी क्रिकेट एकेडेमीका कृष्णले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने शशांक शेखर र साहिल कुमारले समान १–१ विकेट हात पारे ।

१४१ रनको लक्ष्य पछ्याएको एचपी क्रिकेट एकेडेमीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । टोलीका लागि जित ज्योतिले ३१ बलमा ३३ रन बनाए भने अंशु कुमारले १५ बलमा ३२ रनको महत्वपूर्ण योगदान दिए ।

उनले अन्तिम ओभरका दुई बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । साथै, अंकित कुमारले १९ बलमा २० रन जोडे । अंशु कुमार खेलको प्लेयर अफ द म्याच भए ।

लायन्सका बलर राघव कार्कीले ४ ओभरमा १६ रन दिँदै ३ विकेट लिए भने करिथाथा बस्नेत र विभान चापागाईंले समान १–१ विकेट लिए ।

यसअघि आजै समूह ‘बि’ को तेस्रो खेलमा इनरुवा क्रिकेट एकेडेमीमाथि फूलबारी स्पोट्र्स एकेडेमीले १ विकेटको रोमाञ्चक जित निकालेको थियो । समूह चरणअन्तर्गत प्रत्येक दिन दुई खेल भइरहेका छन् ।

अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको मुख्य प्रायोजक नवनीत एकेडेमी हो । प्रतियोगितामा नेपाल र भारतका १० टोली सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Adv footer