
बिर्तामोड, बैशाख ६ । झन्डै पाँच वर्ष हुन लाग्दासमेत झापाका कृषकले आफ्नो धानबालीमा भएको अर्बौं रुपैयाँको क्षतिपूर्ति पाएका छैनन् । २०७८ को असोज अन्तिम र कात्तिकको सुरुमा झापामा भएको बेमौसमी वर्षाले पुर्याएको क्षति हालसम्म कृषकले पाएका छैनन् ।
उतिबेलाको क्षति पूर्ति नपाएका कृषकलाई २०८२ फागुनको अन्तिम साता अर्को विपद आइलाग्यो । पटकपटक आएको हावाहुरी र असिनासहितको वर्षाले नगदेबालीका रूपमा रहेको मकै, तरकारी, फलफूल र माहुरीपालन व्यवसाय चौपट भयो ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै कृषि क्षेत्रमा अर्बौंको क्षति भएको छ । सबैभन्दा बढी प्रभावित झापाको बाह्रदशी गाउँपालिका हो । पाँच वर्षअघि पनि सबैभन्दा बढी क्षति बाह्रदशीमै भएको थियो ।

पाँच वर्षअघि जस्तै पालिकाले फेरि क्षतिपूर्ति संकलनको काम सुरु गर्यो । यसपटक कृषकले पालिकालाई क्षतिपूर्तिको तथ्यांक दिनै आनाकानी गरेका छन् । २०७ मा कृषि ज्ञान केन्द्रले पालिकाहरूको समन्वयमा क्षतिको विवरण संकलन गरेर प्रदेश हुँदै केन्द्रमा पठाएको थियो ।
केन्द्र सरकारले बेमौसमी वर्षाबाट भएको क्षतिको पूर्तिका लागि भन्दै ‘बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड–२०७८’ पनि पारित गरे पनि हालसम्म क्षतिपूर्ति नपाएका कृषकले यसपालि तथ्यांक दिन नमानेका हुन् ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईंका अनुसार कृषकले २०७८ सालमा नपाएको क्षतिपूर्तिको रिस अहिले पालिका जनप्रतिनिधिमाथि पोखिरहेका छन् ।
बालेन सरकार बनेकै दिन घोषणा भएका १०० सुधारका कार्यक्रमको ९० नम्बर बुँदामा कृषि क्षेत्रको सुधार गर्ने उल्लेख छ, जसमा खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नेलगायतका विषय भए पनि विगतमा भएको क्षतिको क्षतिपूर्ति दिने विषय उल्लेख छैन ।






