
बिर्तामोड, बैशाख ८ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत) मा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ । गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र मूल्य दुवैमा करिब ७० प्रतिशतको संकुचन देखिएको हो ।
चालु वर्ष ९ महिनामा नेपालमा भारत र चीनबाट १ अर्ब ९८ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको जम्मा १४ हजार ४ सय ६५ टन ताजा लसुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत आव २०८१/८२ सोही अवधिमा नेपालमा भारत र चीनबाट ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार बराबर ४९ हजार ११ टन लसुन भित्रिएको थियो ।

तथ्यांक तुलना गर्दा गत वर्षभन्दा यस वर्ष लसुन आयात परिमाण ३४ हजार ५ सय ४६ टनले घटेको छ । प्रतिशतका आधारमा हेर्दा यो ७०.४८ प्रतिशतको गिरावट हो ।
गत वर्ष ९ महिनामा लसुन आयातबाट सरकारले १ अर्ब ६६ करोड ४४ लाख ६१ हजार राजस्व संकलन गरेको थियो । चालु आव ४८ करोड ४२ लाख ५२ हजार संकलन भएको छ ।






