२०८३ बैशाख १० बिहीबार
Jhapa Today
Adv top

चन्द्रगढी महिला गोल्डकपः आज एपिएफ र संकटा खेल्दै


भद्रपुर, बैशाख १० । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेल हुँदैछ ।

आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबले जनाएको छ ।

यसअघि एपिएफले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । संकटा बाइ पाएर सिधै क्वार्टर फाइनल खेल्न लागेको हो ।

गत कात्तिकमा झापामा भएको महिला गोल्डकपमा संकटा घरेलु झापा एफसीलाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । महिला लिगमा संकटा विभागीय टिमबाहेक सबैभन्दा सशक्त टिम हो ।

सङ्कटाले यसअघि विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई समेत पराजित गरिसकेको छ । साथै, टोलीमा ६ जना यु–२० राष्ट्रिय खेलाडीहरू र भुटानकी एक राष्ट्रिय खेलाडी समेत रहेका छन् । उदीयमान र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीहरूको उपस्थितिले संकटा टोलीलाई थप बलियो बनाएको छ ।

तर, एपिएफ पनि बलियो दाबेदारका रूपमा मैदानमा उत्रिँदैछ । एपिएफ टोलीमा राष्ट्रिय खेलाडी अनिता केसी, रश्मिकुमारी घिसिङ, गीता राना, रेनुका नगरकोटी, अनिता बस्नेतसहित स्टार गोलकिपर अञ्जना राना लगायत अनुभवी खेलाडीहरू छन् । यी खेलाडीहरूको अनुभवले टोलीलाई संकटाविरुद्ध जित निकाल्ने आत्मविश्वास दिनेछ ।

आजको खेलको विजेता टोलीले बैशाख १२ गते सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

Adv footer