२०८३ बैशाख २३ बुधबार
Jhapa Today
Adv top

समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि बचत फिर्ता गरिने


बिर्तामोड, बैशाख २२ । समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता जेठको पहिलो साताबाट सुरु हुने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रम गरी आफ्ना कार्ययोजना सार्वजनिक गरेको हो । जसअनुसार जेठको पहिलो साताबाट माग दाबीकर्ता बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आरम्भ हुने उल्लेख छ ।

त्यस्तै माग दाबी छुट भएका बचतकर्तालाई माग दाबी गर्नका लागि आगामी साउनको पहिलो साता समय खुला गरिने समितिले जनाएको छ । कर्जा असुलीका लागि समितिले कानुनबमोजिम अब कठोर नीति अवलम्बन गर्ने जनाएको छ ।

त्यस्तै किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्धता व्यक्ति गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीलाई यथोचित समय उपलब्ध गराउने, नतिर्ने ऋणीको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्य समेतको नाम कालोसूचीमा समावेश गर्ने समितिले चेतावनी दिएको छ ।

हाल समस्याग्रस्त सहकारीको करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ ।

Adv footer